विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुवात

विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको सहज जित निकालेको छ । बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिह ऐरीकाे अर्धशतकमा सहज जित निकालेको हो ।

प्रतियोगितामा विराटनगरको भने यो लगातार दोस्रो हार हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटले पराजित भएको थियो । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६.१ ओभरमा ९२ रनमै समेटियो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

विराटनगरविरुद्ध फराकिलो जीत निकाल्ने क्रममा अविनाश बोहोरा र स्कटले तीन/तीन विकेट लिए । ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एक/एक विकेट लिए । सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए ।

विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एक/एक विकेट लिए । योसँगै सुदूरपश्चिम पहिले ब्याटिङ गरेर जित निकाल्ने पहिलो टिम बन्यो । प्रतियोगिताको यसअघिका तीनै खेलमा लक्ष्य पछ्याउने टिमले जित निकालेका थिए ।