काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सहितका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित रिट दर्ता भएको हो ।
अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको उल्लेख गरेका छन् ।
यो मुद्दामा मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ । अधिवक्ता भट्टराईले रास्वपा केन्द्रीय पदाधिकारी, बागमती प्रदेश सभापति अच्युतम लामिछाने, सांसदहरू मनिष झा, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोबिता गौतम, अशोककुमार चौधरी, असिम शाह, गणेश पराजुली, चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकाललाई विपक्षी बनाएर रिट लगेका हुन्। सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने पक्राउ परेका थिए। त्यसबेलादेखि नै रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै सडक प्रदर्शन गरिराखेको छ ।