बोर्डको निर्णयपछि विद्युत प्राधिकरणले जोड्यो उद्योगको लाइन

बोर्डको निर्णयपछि विद्युत प्राधिकरणले जोड्यो उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णय अनुसार उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिएको छ । मंगलबार राति नै अधिकांश उद्योगहरुमा लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइन बापतको बक्यौता नतिरेपछि प्राधिकरणले तीन दर्जन बढि उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएको लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको विषयमा उर्जामन्त्री र प्राधिकरणबीच विवाद भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनपछि बक्यौता रकम उठ्ने सुनिश्चिता खोजेका थिए । तर उर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा जोड दिएका थिए ।