

काठमाडौं, ५ भदौ । आज इस्लाम धर्मावलम्बीले प्रसिद्ध पर्व बकर–इद । इस्लाम धर्मावलम्बीले उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।
यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ । सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको इस्लाम धर्मगुरु बताउँछन् ।
बकर–इदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायत विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी कामना गर्नु भएको छ।
राष्ट्रपति भण्डारीले जारी गरेको शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास समेत व्यक्त गरिएको छ ।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना प्रकट गर्दै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।
बकर–इद इस्लामका पाँच आधारस्तम्भमध्येको एक हज (तीर्थाटन) सँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मालम्बीले हज गर्ने प्रचलनअनुसार यस पटक एक हजार १०० नेपाली मुसलमान हजमा सहभागी हुन लागेको जनाउनुभएको छ ।
उहाँले संस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यस पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भनी कामना गर्दै एकता र सहकार्यको उच्चतम अभ्यासबाटै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गरिने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० ले देशविदेशमा रहेका इस्लाम धर्मावलम्बीमा शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।
राजपाका संयोजक महन्थ ठाकुरले आज विज्ञप्ति जारी गर्दै सो पर्वले सबैमा आपसी भाइचारा, सद्भाव र सुख अभिवृद्धि गरोस होस् भनी कामना गर्दै सबै किसिमको विभेद, कुरीति र रुढिवादविरुद्ध आफ्नो सङ्घर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उपपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना व्यक्त गर्नुभएको छ ।उपराष्ट्रपति पुनले आज जारी गरेको शुुभकामना सन्देशमा सो पर्वका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच आपसमा सुदृढ एकता कायम राख्ने र देशमा बकर–इद ९ पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सन्देशमा नेपालको विविध धार्मिक तथा साँस्कृतिक मान्यताको धनी हाम्रो देशमा मनाइने बकर–इद पर्वको विशेष महत्व रहेको र यस पर्वका अवसरमा मुलुकमा स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण मद्दत पुग्ने उल्लेख छ ।
सभामुख कृष्णबहादुर महराले पनि सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुख महराले जारी गर्नुभएको शुभकामना सन्देशमा बलिदानी र त्याग, समर्पण शान्ति, समृद्धि, भाव र सत्मार्गमा अगाडि बढ्न विश्वमा रहेका सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरिएको छ ।
सन्देशमा भनिएको छ, “हाम्रोजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधताले धनी देशमा मनाइने यस्ता पर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै धार्मिक सहिष्णुता, आपसी मेलमिलाप र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पु¥याएका छन् ।”
सन्देशमा भाषा, धर्म, परम्परा, रीतिरिवाज, कलासंस्कृति देशको पहिचान, सभ्यता देशको परिचायक भएको र यस पर्वले विविधतासहित आपसी सद्भाव, भ्रातृत्वलाई जोगाउँदै धार्मिक सहिष्णुता एवं राष्ट्रिय एकतालाई मजबुत बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।
यस्तै नेकपा अध्यक्ष प्रचण्डले पनि नेपाली मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
यस्तै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पनि एक शुभकामना सन्देश दिँदै बहुभाषा, जाति, धर्म, परम्परा र चाडपर्व रहेको नेपालमा यसप्रकारका पर्वले आपसमा भाइचारा, मित्रता, सद्भाव र एकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुद पार्दै आर्थिकरुपमा समृद्ध नयाँ नेपाल निर्माणको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै यो पर्वमा प्रदेश नम्बर १,२ र ५ ले सार्वजनिक बिदा समेत दिएको छ । केन्द्र सरकारले भने कुनै बिदा दिएको छैन ।