महिला यु-१९ विश्वकप छनोट : थाइल्यान्डविरुद्ध नेपालको १०६ रनको फराकिलो जित

महिला यु-१९ विश्वकप छनोट : थाइल्यान्डविरुद्ध नेपालको १०६ रनको फराकिलो जित

काठमाडौं । नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा आइतबार थाइल्यान्डविरुद्ध १०६ रनको फराकिलो जित निकालेको छ । जितसँगै चार खेलमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । यसअघि थाइल्यान्डलाई ६७ र कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय ब्यहोरेको थियो ।

यता दोस्रो पराजय ब्यहोरेको थाइल्यान्ड समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ । यसअघि युएईसँग ७४ रनले पराजित थाइल्यान्डले कुवेतलाई २० रनले हराएको थियो । युएईको द सेभेन रंगशालामा नेपालले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै समेटियो । थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कुसुम गोदारले तीन, रिया शर्मा र रचनाकुमारी चौधरीले समान दुई तथा कप्तान पूजा महतोले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि साना प्रविनले ४६ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरिन् । यसैगरी सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए । पहिलो विकेटका लागि साना र सावित्रीले ८८ रनको साझेदारी गरेका थिए ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ। डबल राउण्ड रोबिन लिगका आधार जारी प्रतियोगिताको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।