दशरथ रंगशालामा गेटदेखि मैदानसम्मै सुरक्षाकर्मी परिचालन

दशरथ रंगशालामा गेटदेखि मैदानसम्मै सुरक्षाकर्मी परिचालन

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाएको प्रहरीले जनाएको छ । साँझ ६:३० बजे नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदै छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार खेल हुने स्थान दशरथ रंगशाला र आसपासमा सुरक्षाको राम्रो व्यवस्था गरिएको छ । उनले विभिन्न कोणबाट सुरक्षा विश्लेषण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन भएको बताए ।

त्यस्तै रंगशालाको गेट, प्याफिट, खेल मैदान सवैतिर फरक फरक टोली खटाइएको छ । त्यसबाहेक बम डिष्पोजल टोली, एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका र आवश्यकताअनुसार बर्दी र सादा पोसाकका प्रहरीले सुरक्षा प्रदान गर्ने बताइएकाे छ ।

दर्शकहरू खेल सुरु हुनु ३ घण्टाअगाडिबाट नै रंगशाला पुगेका छन् । कतिले नेपालको झण्डा त कतिले राष्ट्रिय टोलीको जर्सी लगाएर लामवद्ध भएका छन् । एन्फाले आजै मात्र फाइनलको टिकट भौतिक उपस्थितिमै काटेको थियो । जसमा करिब ३ घण्टामै टिकट बिक्री भएको थियो । सुरक्षालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले रंगशालामा कुकुरको सहायताबाट समेत चेकजाँच गरिरहेको छ ।