प्रधानमन्त्री ओलीले आज सय दिने प्रगति विवरण सार्वजनिक गर्ने

प्रधानमन्त्री ओलीले आज सय दिने प्रगति विवरण सार्वजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगति विवरण आज सार्वजनिक गर्दै छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । गत असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

ओली सरकारका सबै मन्त्रीले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेको बताएका छन् । एमाले अध्यक्ष ओली गत असार १७ गते भएको नेपाली कांग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका हुन् । राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

चौथो कार्यकालका लागि ओली प्रधानमन्त्री भएपछि भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गरिने कार्यसम्पादन सम्झौतामा उल्लेख छ ।