काठमाडौं, ३ भदौ । चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ ।
नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको छ ।
नगरपालिका अन्तर्गतका सबै १५ वडा कार्यालयले ती सामाजिक सेवाका कर (सिफारिश शुल्क) लाई यस वर्ष पनि निःशुल्क बनाइ अन्य स्थानीय सरकारको लागि अनुकरणीय र उदाहरणीय कार्य गरेको छ । यसले नगरवासीलाई थप सहुलियत प्रदान गरेको छ ।
नेपाली कांग्रसबाट निर्वाचित मेयर घनश्याम गिरिले जनाताको भावना अनुरूप उक्त करको व्यवस्था मिलाइएको बताउनुभयो ।
जन्म, विवाह, बसाईंसराई, सम्बन्ध विच्छेद र मृत्यु दर्ता तथा छात्रवृत्ति र स्वास्थ्यसम्बन्धी सिफारिस निःशुल्क हुने नगरपालिकाले जनाएको छ । मृतकसँगको नाता प्रमाणितको लागि भने ३१० रुपैयाँ लाग्नेछ ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार घरबहाल लगायतका अरु करमा छुट दिइएको छ । अरु स्थानीय तहमा जस्तै कवाडी कर, ढुंगा गिट्टी र बालुवा कर, उद्योग व्यवसाय कर लिने गरे पनि कर लिएवापत नागरिकलाई सेवा सुविधा दिने कुरामा नगरपालिका सचेत भएको उहाँको दावी छ ।