सोमपाल चम्किँदा नेपाललाई एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिज

सोमपाल चम्किँदा नेपाललाई एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिज

काठमाडौं । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि कब्जा गरेको छ । सोमपाल कामी चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि जित हात पारेको हाे । आइतबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो ।

सुपर ओभरको पहिलो र दोस्रो बलमा सोमपालले सयन जहाँगिर र आन्द्रेस गसलाई समान एक रन दिए । तर, तेस्रो बलमा सयनलाई सोमपालले बोल्ड गराए । चौथो बलमा सोमपालले दीपेन्द्रबाट आरोन जोनेसलाई शून्य रनमा क्याच आउट गराए । त्यसपछि नेपालले तीन रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले चार बलमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो । सुपर ओभरमा कुशलले एक रन बनाए । रोहितकुमार पौडेलले तीन बलमा दुई रन बनाएपछि नेपालले लगातार दोस्रो जितसहित शृंखला एक खेलअगावै कब्जा गरेको हो ।

यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाका आन्द्रेस गसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । त्यस्तै अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिएका थिए भने सौरभ नेत्रा भलकरले एक विकेट लिएका थिए । अब सिरिजको अन्तिम खेल भोलि बिहान हुने तालिका छ ।