पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी प्रहरीले कास्की लगेको थियो । हिजो शनिबार भएकाले अदालत उपस्थित गराइएन । रास्वपा कार्यकर्ताहरुले हिजोदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।
रास्वपाका शीर्ष नेताहरु पनि यतिबेला पोखरामा छन् । रास्वपाका समर्थकलाई कास्कीमा बोलाएर आन्दोलन चर्काउने उनीहरुको रणनीति छ । उता सहकारी पीडितहरुले पनि आन्दोलन चर्काउने तयारी गरेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सुरक्षा व्यवस्था चुस्त बनाइएको बताए ।