काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवहाक प्रवक्ता मनिष झाले सरकारमा रहेकाहरुले राजनीतिक प्रतिशोध साँधेर अदालतको समेत प्रयोग गरेको आरोप लगाएका छन्।
सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि पोखरामा जारी प्रदर्शनको क्रममा बोल्दै अदालत पनि नांगिएको टिप्पणी गरे।उनले भने, ‘अदालतमा पनि पार्टीमा मान्छे छन् नत्र ७ जनामा त्यही न्यायाधिश कसरी पर्छ। ७ जनामध्ये आजभन्दा २५ दिनअघि जुन न्यायाधिशले गर्नेवाला थियो हिजो त्यही कसरी पर्छ। ६ जना बिदामा कसरी हुन्छ। सबैले भनेका छन्, हामीले मात्रै भनेका होइन। अदालत नांगियो भने हामी न्याय खोज्न कहाँ जाने। उहाँहरुले राजनीतिक प्रतिशोध कुण्ठाको लागि अदालतको पनि प्रयोग गर्दै हुनुहुन्छ।’
उनले आफूहरु वास्तविक सहकारी पीडितको पक्षमा लडिरहेको जिकिर गर्दै प्रधानमन्त्री केपी ओली र कांग्रेस महामन्त्री गगन थापाले रवि लामिछाने मात्रै देखेको टिप्पणी गरे।
उनले थपे, ‘सहकारीमा ८७ अर्ब फसेको छ। हामीले त्यो समस्या समाधान गर्नुपर्छ भनिरहेका छौं। हामी कसैलाई उन्मुक्ति दिन हुँदैन भन्ने पक्षमा छौं। उहाँहरुले सार्वजनिक लेखा समितिको सभापतिको श्रीमती भएकाले उन्मुक्ति, कांग्रेसको उपसभापति भएकाले उन्मुक्ति पाउने रे, हामीले उन्मुक्ति खोजेका छैनौं न्याय खोजेका हौं।