गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न जय नेपाल फाउण्डेसन जस्ता संस्थाहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

आफ्नै निवास बूढानीलकण्ठमा बुधवार जय नेपाल फाउण्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले जय नेपाल फाउण्डेसनले चेतनाको वाहक बनेर लोकतान्त्रिक विधि र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जन अधिकारको रक्षाका निम्ति सशक्त आवाज उठाउन उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । साथै सभापति देउवाले नेपाली कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउण्डेसनलाई आग्रह गरे ।

नेपालमा मात्र होइन विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जय नेपाल अन्तर्राष्ट्रिय फाउण्डेसनसमेत स्थापना भएकोमा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए ।

स्मारिका सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि,उद्देश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराएका थिए ।

सो अवसरमा जय नेपाल सन्देशका प्रधान सम्पादक प्रा.डा. धनेश्वर नेपाल र फाउण्डेसनका संस्थापक सदस्य सचिव एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख विजयराज अधिकारीले स्मारिकामा समेटिएका विषयवस्तु र विचारहरुबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराएका थिए ।

स्मारिका सार्वजनिक कार्यक्रममा जय नेपाल फाउण्डेसनका संस्थापक सदस्यहरु योगेन्द्र राई, रामबहादुर रोकाय, प्रकाश रावल र शान्ता तामाङलगायतकाे सहभागिता थियो ।

जय नेपाल फाउण्डेसन नेपालभित्र रहेका तथा विश्वभर छरिएका नेपाली युवाबीच सहकार्य, सहयोग र सद्भाव बढाउने उद्देश्यले स्थापना भएको गैरनाफामूलक संस्था हो । जय नेपाल फाउण्डेसनको केन्द्रीय समिति, ७ वटै प्रदेश, ७७ वटै जिल्ला एवं पालिका तहसम्म संरचना विस्तार भएका छन् । अमेरिकामा जय नेपाल अन्तर्राष्ट्रिय फाउण्डेसन क्रियाशील छ भने यस अन्तर्गत विभिन्न देशमा ३० भन्दा बढी शाखा विस्तार भएको छ ।

नेपाल विद्यार्थी सङ्घका पूर्व महामन्त्री तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त युवा वैज्ञानिक प्रा. डा. यादव पण्डितले जय नेपाल इन्टरनेसनल फाउण्डेसनको नेतृत्व गरेका छन् । फाउण्डेसनअन्तर्गत अन्तर्राष्ट्रिय नलेज नेटवर्क, मिडिया नेटवर्क, युथ नेटवर्क र ओमन नेटवर्क समेत क्रियाशील छन् ।