काठमाडौं, २ भदौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन आज सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।
उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिने दिनेछन् ।
उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व युवा तथा खेलकूदमन्त्री जगतबहादुर विकले गर्नेछन् । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी हुनेछन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । इण्डोनेसियामा सन् १९६२ मा पनि एशियाडको चौथो संस्करण भएको थियो ।
उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन् । त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारी एशियाडमा भाग लिएका नेपाली खेलाडीमध्ये सिनियर हुन् ।