

काठमाडौं । भारत र क्यानडाबीच कुटनीतिक तनाव बढेको छ । अघिल्लो वर्ष क्यानडामा एक पृथकतावादी नेताको हत्याको विषयलाई लिएर दुई देशबीचको कुटनीतिक द्वन्द्ध थप बढेको हो ।
क्यानडामा सन् २०२३ मा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय खुफिया एजेन्सीको हात रहेको क्यानडाको दावी छ । क्यानडाले उक्त घटनाको अनुसन्धानमा भारतीय अधिकारीले सहयोग नगरेको आरोप लगाएको छ भने क्यानडामा रहेका भारतीय राजदूुतावासका उच्च अधिकारीमाथि अनुसन्धान गरिरहेको भारतको दावी छ ।
भारतले आफ्नो कुटनीतिक अधिकारीलाई स्वदेश फिर्ता बोलाउने निर्णय गरे लगत्तै भारतमा रहेका क्यानेडियन कुटनीतिज्ञलाई देशबाट निष्काशित गर्ने निर्णय गरेको हो । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको छ । साथै क्यानडाबाट आफ्नो देशको उच्चायुक्त सञ्जय कुमार बर्मालाई फिर्ता बोलाएको छ ।
भारतले दिल्लीबाट निष्कासित गरेका क्यानडाका कूटनीतिज्ञहरुमा कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलर, उपउच्चायुक्त पेट्रिक हेबर्ट, फर्स्ट सेक्रेटरी मेरी क्याथरिन, इआन रोस डेभिड, एडम जेम्स र पाउला आर्जुएला छन् । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई १९ अक्टुबरको दिन राति १२ बजेभन्दा अगाडि नै भारत छाड्न निर्देशन दिएको छ ।