नागपञ्चमी पर्वकाे महत्व तथा विशेषता

नागपञ्चमी पर्वकाे महत्व तथा विशेषता

हिन्दु धर्मशाश्त्रमा लेखिएअनुसार नागलाई देवताको रुपमा पूजा गरिन्छ । परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान् शिवको आभुषणकाे रूपमा होस् वा भगवान विष्णुको शय्याकाे रूपमा होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकार प्रकार स–चित्र देख्न पाइन्छ । पूर्बीय दर्शनकाे पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक (जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिन देखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ।

त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नागदेवता रिसाई किसानको घरमा गई किसान सहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँचीन् र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाईन्, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइ दिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको भन्ने पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ ।

नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यो श्रद्धा र विश्वासको पर्व हो। नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ। यस दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। यसै दिनदेखि वर्षायाम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ। ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।

हिन्दु समाजमा नागलाई शिव र विष्णुका रूपमा पूजा गर्छन् । शिवले नागको माला लगाएका छन् र विष्णु जलमाथि शेषनागको शैøयामा फणाको छाता ओढी सुतेका हुन्छन् । यस्तै गणेशको एक हातमा पनि नागबाण छ । कृष्णका दाजु बलराम र रामका भाइ लक्ष्मण शेषनागका अवतार भएको मानिन्छन् । कृष्णले बालककालमै कालीनागको दमन गरेको प्रसङ्ग प्रसिद्ध छ ।

बौद्ध परम्पराअनुसार पनि बुद्ध जन्मनासाथ नन्द र उपनन्द नामक नागले उसको स्तुति गरेका थिए । बुद्धले ज्ञान प्राप्त गरेपछि केही समय बोधिवृक्षमुनि बस्दा उनको शिरमा नागराज पुलिन्दले छायाँ दिएको कथा बौद्ध परम्परामा भेटिन्छ । यस्तै जैन धर्मका सातौँ र २३सौं तीर्थङ्कर सुपाश्र्व र पश्र्वनाथको शिरमाथि सातवटा सर्पका टाउकाको छत्र बनाएर उनीहरूलाई नागसँग सम्बन्धित बनाएको देखिन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला छ । यी प्रमाणबाट नागको महात्म्य बुझ्न सजिलो हुन्छ । भगवान् बुद्ध यस्तो प्राकृतिक पूजामा विश्वास नगर्ने भए पनि उहाँले भन्नुभएको छ– ‘नागको पूजा वन्दना गर्नाले सर्पबाट हुने भय हुँदैन, सर्पको विषले असर गर्दैन ।’

नागपञ्चमी पूजा र विधि:

प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध,दही,घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको तथा चट्याङको भय रहँदैन ।

नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ। यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन, र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ। साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।

-ज्योतिष विद्याबाट