

काठमाडाैँ, ३० साउन । सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजभण्डारीलार्इ पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।
सरकारले कामिनीको काम गराई चित्त नबुझेपछि राजभण्डारीलाई स्पष्टीकरण सोधेको थियो । गत असोजमा नियुक्त भएकी राजभण्डारीका कारण टेलिकमको अवस्था दयनिय भएको महशुस भएपछि सरकारले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
यस्तै, मन्त्रिपरिषद बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा नियन्त्रक सुरेश प्रधानलाई तोकेको छ । सरकारले उता मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्यका लागि बूढानीलकण्ठ क्षेत्रको नौ आना जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय समेत गरेको हो ।
सरकारले बालबालिकासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक र रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको छ ।
यस्तै, मन्त्रिपरिषद बैठकले बोनस (चौथो संशोधन) नियमावली, २०७५ स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार प्रविधिमन्त्री बास्कोटाले जानकारी दिए ।