प्रचण्डले ढाँटे, लामाले भने म कांग्रेसमै छु

प्रचण्डले ढाँटे, लामाले भने म कांग्रेसमै छु

भरतपुर । केही दिन अघि नेपाली कांग्रेस चितवनका पूर्वसचिव तथा नेपालको सबैभन्दा पुरानो सहकारी संस्था बखान सहकारीका अध्यक्ष मोहनसिँह लामाले आफु कांग्रेसमै आवद्ध रहेको बताएका छन् ।

उनले सोमबार बिहान पत्रकार सम्मेलन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन आफुसहित डेढ सयभन्दा बढी कांग्रेस कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेको भन्ने समाचार झुट र भ्रामक भएकोसमेत दावी गरेका छन् ।

पुत्र शोकमा रहेका प्रचण्डलाई मानविय नाताले सहकारी र आमा समुहमा आवद्ध दिदिबहिनीसहित समवेदना दिन प्रचण्ड निवास पुगेको विषयलाई लिएर माओवादीले आफु विरुद्ध षडयन्त्र गरेको उनको भनाइृ छ । ‘‘समवेदना दिएर फर्किदा प्रचण्डले सहकारीका अध्यक्षलाई स्वागत गर्नु पर्यो, खादा र टीका तयार गर्नु भन्नुभयो’’ उनले भने, ‘‘हामीले पनि सहकारीको अध्यक्ष भएको नाताले होला नि त भनेर चुप लाग्यौं । खादा र टीका थापेर ग्रुप फोटो खिच्न लगाइयो र हामी घरतिर फर्कियौं ।’’

पछि साथीहरुले तपाईं त माओवादी प्रवेश गर्नु भएछ भनेर सोध्दा मात्रै आफुले थाहा पाएको लामाले बताए । शोकमा परेको ब्यक्तिलाइ भेट्न गएको विषयलाई लिएर कांग्रेस छोडेर माओवादी प्रवेश गरेको भन्ने भ्रामक समाचार प्रति उनले आपत्ति समेत जनाए । ‘‘हामीलाइ प्रचण्डको यस्तो घटिया काम देखेर घृणा लागेर आएको छ’’ उनले भने, ‘‘म कांग्रेसको बफादार कार्यकर्ता हुँ ।’’ चितवन–३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक)का बिक्रम पाण्डे र कम्युनिष्ट गठबन्धनका प्रचन्डबीच प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा चलिरहेको छ ।