काठमाडौंँ । नेपालका विकासकर्मीहरूको साझा सञ्जाल–संस्था ‘नेपाल सहभागीमुलक कार्य समूह (नेपान)’ को अध्यक्षमा विकासविद् तथा संरक्षण अभियानकर्मी भोला भट्टराई पुनः निर्वाचित हुनुभएको छ । हालै (गत असोज ५ गत, शनिवार) काठमाडौंमा आयोजित ३०औं वार्षिक साधारणसभाले उहाँलाई सर्वसम्मतबाट अध्यक्षमा चयन गरेको हो ।
नेपानको संशोधित विधान २०८० मा प्रावधान भएबमोजिम संस्थाले उपाध्यक्ष तथा सचिवको पनि चयन गरेको हो । विगतमा विधानमा अध्यक्ष तथा कोषाध्यक्ष, निवर्तमान अध्यक्ष, तथा सदस्यहरू गरी कुल १३ जनाको कार्यकारिणी समिति रहने व्यवस्था भएकोमा संशोधित नयाँ विधानले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्ष, र ७ जना सदस्य गरी जम्मा ११ जनाको मात्र कार्यकारिणी समितिको व्यवस्था गरेको छ । नयाँ प्रावधानमा निवर्तमान अध्यक्षलाई पदेन सदस्य बनाउने पुरानो नियम भने हटाइएको छ । कार्यसमितिमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानलाई नेपानले नित्य कार्यान्वयन गर्दै आएको छ । त्यसैगरी कार्यसमितिलाई सकेसम्म समावेशी बनाउने नेपानको प्रयास नेपालका अन्य संस्थाका लागि पनि उदाहरणीय बन्दै आएको छ ।
नवगठित कार्यसमितिको पूर्ण विवरण यसप्रकार रहेको छः
अध्यक्षः भोला भट्टराई
उपाध्यक्षः डा. रोजी जोशी
सचिवः श्रीराम केसी
कोषाध्यक्षः रुपा बस्नेत
सदस्यः बालकृष्ण शर्मा
सदस्यः बिजया खनाल
सदस्यः डा. गिरी पन्थी
सदस्यः कर्णबहादुर नेपाली
सदस्यः डा. नरेन्द्रसिंह ठगुन्ना
सदस्यः रामहरि अधिकारी
सदस्यः सिर्जना देव ।
नेपानमा हाल झण्डै साढे तीन सय सदस्य रहेका छन् । हरेक वर्ष नयाँ सदस्य थपिने क्रम जारी रहेको छ । यस वर्ष पनि साधारणसभाले नेपालका ७ जना विकासकर्मीहरूलाई सदस्यता प्रदान गरेको छ । नयाँ सदस्यहरूमा चन्द्रबहादुर सर्तुङ्गे मगर, चन्द्रभक्त विष्ट, दीपक पोखरेल, दिनेश अर्याल, जयराम भण्डारी, किरणकुमार बराम तथा डा. आरसी लामिछाने हुनुहुन्छ ।
नेपानका सदस्यहरू सातै प्रदेशमा छरिएर रहेका छन् । सहभागितात्मक विकास पद्धतिका विश्वविख्यात अनुसन्धान्कर्ता तथा प्रवर्धक प्रा.डा. रोबर्ट च्याम्बर्स (बेलायत) नेपानका एकमात्र मानार्थ सदस्य रहनुभएको छ । सदस्यहरूको योगदानका आधारमा नेपानले कोटेश्वरमा आफ्नै अफिस घर (‘नेपान–घर’) समेत बनाएको छ । विकासकर्मीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपानमा दुईवटा पुरस्कारको समेत व्यवस्था गरिएको छ । हरेक वर्ष साधारणसभाको अवसर पारेर ती पुरस्कार प्रदान गर्ने गरिन्छ ।