रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति

रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।  सचिवालय सदस्य गंगा दाहालले आज सामाजिक सञ्जाल मार्फत मिश्रले गरेको टिप्पणीकाे खण्डन गरेकी छिन् ।

सचिवालयले फेसबुकमा लेखेकाे छ-

‘हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्र जीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पोस्ट्याउनु भएको छ साथै पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नु भएको छ।

जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपुर्ण आन्दोलनको नेतृत्व गर्नु भयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नु भयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तब्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ। उहाँका विचार भनेर मिश्र जी ले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।

पन्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोहि नेपाली भ्रममा होलान् र मिश्र जी ? तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि?’