तलवभत्ताको कुनै लोभ छैन : डीना

तलवभत्ताको कुनै लोभ छैन : डीना

काठमाडौं ।  आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले चुनाव जितेपछि आउने तलवभत्ता २ नम्बर क्षेत्रको दलित, जनजाति तथा गरिबका बालवालिका पढाउन खर्च गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार राक्सिराङ गाउँपालिका अन्तर्गत वडा नम्बर ९ खैराङमा भएको चुनावीसभा कार्यक्रममा उपाध्याय र बानियाँले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘हामी यस क्षेत्रको विकासको लागि आएका हौँ । हामीलाई तलवभत्ताको कुनै लोभ छैन’, डीनाले भनिन्, ‘हामीले पाउने जति पनि सेवा सुविधा यसै क्षेत्रको वालवालिकाको पढाइको लागि खर्च गर्ने घोषणा गर्न चाहन्छौँ ।’

यसअघि यही क्षेत्रबाट जितेर गएकाहरुले आवश्यक भन्दा बढी किर्ते बिल बनाएर अनेकौँ सुविधा लिएको चर्चा चल्ने गरेको स्मरण गराउँदै उनले सेवा सुविधा लिनको लागि चुनावमा नआएको बताइन् । ‘पटक पटक कम्युनिष्टहरुलाई जिताउनुभो, के पाए यस क्षेत्रका जनताले ? एकपटक अन्तरआत्मादेखि मनन् गर्नूहोस्’, डीनाले भनिन्, ‘सिर्फ एकपटक हामीलाई जिताउनूहोस्, हामीले भनेका कामहरु गर्न सकेनौँ भने अर्को पटक आउँदा जे सजायँ दिएपनि सहन तयार छौँ ।’ पछिल्लो समय काँग्रेसप्रति आकर्षण बढेसंगै मकवानपुरसहित देशैभर लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भैसकेको उनले दावी गरिन् ।

यस्तै क्षेत्र नम्बर २ को २ ‘ख’ का प्रदेशसभा सदस्य पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभा सदस्यका उम्मेदवार डीना उपाध्याय र आफू मिलेर मकवानपुर क्षेत्र नम्बर २ को मुहार फेर्ने बताए । ‘पटक–पटक कम्युनिष्टले जित्दा पनि यस क्षेत्रको विकासमा केही हुनै सकेन्, यहाँको जनताको अवस्था जस्ताको तस्तै छ, समस्या ज्यूँका त्यूँ छन्’, बानियाँले भने, ‘यही देखेर अब यस क्षेत्रको विकास गर्ने जिम्मा हाम्रै हो भन्ने दृढसंकल्पका साथ आफूले यसअघि जितेको क्षेत्र छोडेर यस क्षेत्रमा आएको हुँ ।’

उनले यो पटक लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताएर वास्तविक विकास कस्तो हुन्छ भन्ने हेर्न मतदाताहरुलाई अनुरोध गरे । जनतालाई एमालेले आश देखाउने र माओवादीले त्रास देखाउने गरेको भन्दै उनले अब आस र त्रासबाट मुक्ति पाउनको लागि एकपटक लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विश्वास गर्न माग गरे । कार्यक्रममा काँग्रेसका ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, लोकतान्त्रिक गठबन्धनको तर्फबाट समानुपातिक उम्मेदवार सन्त चेपाङ, गोविन्द रिजाललगायतले लोकतान्त्रिक गठबन्धनको जितले मात्रै मकवानपुरे जनताको हित हुने भन्दै एकपटक लोकतान्त्रिक गठबन्धनलाई जिताउन अनुरोध गरे ।

खैराङमा भएको लोकतान्त्रिक गठबन्धनको कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट राक्सिराङ–९ मा वडा अध्यक्षको उम्मेदवार रहेका शिवकुमार मल्लसहित ७० जना काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँलगायतले काँग्रेसमा स्वागत गरेका हुन् ।

काँग्रेसमा प्रवेश गर्दै वडा अध्यक्ष पदका उम्मेदवार रहेका मल्लले भने, ‘लामो समय एमालेमा रहेर काम त गरियो तर जनताको हितमा केही गर्नै सकिएन । झुटको खेती कति गर्नु भनेर अव यस क्षेत्रको विकासका लागि काँग्रेसमा प्रवेश गरेको हुँ । बाँकी जीवन काँग्रेसमै रहेर सेवा गर्नेछु ।’ साविकको खैराङ गाविसमा कम्युनिष्टहरु करिब सिद्धिने अवस्थामा पुगेको भन्दै उनले बाँकी रहेकाहरु पनि काँग्रेमा आउन आतुर रहेको बताए ।