बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आयोजना गरेको दुई दिने जिल्ला स्तरीय अन्तर विद्यालय चेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा दीप बोर्डिङका टोपराज अधिकारी प्रथम, एभरेष्ट बोर्डिङ्गका साइरस बज्रचार्य द्वितीय र शान्ति नमुनाका सुशान्त अर्याल तृतीय भएका छन् ।
यस्तै छात्रातर्फको विधामा एभरेष्ट बोर्डिङ्गकी सन्जीमा क्षेत्री प्रथम, गार्गी एकेडेमीकी सिसम राना द्वितीय र न्यू होराइज बोर्डिङ्गकी रितिसा आचार्य तृतीय भएका छन् । विजेताहरुलाई नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । प्रतियोगितामा रुपन्देहीका १६ वटा विद्यालयका ६६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बोल्दै विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धिका लागि प्रतियोगिता निकै फलदायी भएको बताए ।
कार्यक्रमको सञ्चालन दिनेश खड्काले गरेका थिए भने प्रतियोगिताको संयोजन शान्ति क्लवका संयोजक सुमन श्रेष्ठले गरेका थिए । प्रतियोगिताको मूल्याङ्कनकर्ताको रुपमा डा. बद्रि थैव, शिवम बि.क., अंकित पोखरेल, जमिर अलीले योगदान पुर्याएका थिए । विजेताहरुलाई रुपन्देही बुद्धिचाल संघका सचिव शिखर रेग्मी, विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्य, बाल क्लवका संयोजक रजनी के.सी लगायतले शुभकामना दिएका थिए ।