काठमाडौं, २८ साउन । सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले चार महिना आठ दिनको तलब पाउने भएका छन् । ९८ दिन सुत्केरी विदासहित थप एक महिनाको तलब पाउने व्यवस्थासहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ ।
सरकारी, गैरसकारी वा निजी संघसंस्थामा कार्यरत महिलालाई विशेषज्ञ चिकित्सकको रायबमोजिम प्रजनन स्वास्थ्य रुग्णताका कारणले जटिल शल्यक्रिया गर्नुपर्ने भएमा अघि वा पछि एक महिनाको तलबसहिको बिदा दिने व्यवस्था विधेयकले समेटेको छ ।
पुरुष कर्मचारीको हकमा श्रीमती सुत्केरी भएको बेला हेरविचारका लागि १५ दिन बिदा दिने प्रस्ताव पनि गरिएको छ । विधेयकअनुसार सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्म तलबसहित प्रसूति बिदा पाउनेछन् । दफा १३ मा भनिएको छ, ‘कुनै गर्भवती महिलालाई बिदा अपुग हुने भएमा स्वास्थ्यकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहित प्रसूति बिदा पाउने अधिकार हुनेछ ।’ यो खबर आजको राजधानी दैनिकबाट लिएका हौं ।