आइसिसीको ट्वेन्टी–ट्वेन्टी बरियतामा नेपालका चार क्रिकेटर

आइसिसीको ट्वेन्टी–ट्वेन्टी बरियतामा नेपालका चार क्रिकेटर

काठमाडौँ, २२ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद, आइसिसीले जारी गरेको नयाँ बरियतामा ट्वेन्टी–ट्वेन्टी क्रिकेट तर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका छन् । ब्याटिङ्ग तर्फ कप्तान पारस खड्का र शरद भेषावकर तथा बलिङ्ग तर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका हुन् । ट्वेन्टी–ट्वेन्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित ९० औँ स्थानमा छन् । यस्तै २३८ अंकसहित शरद ९८ औँ स्थानमा रहेका छन् ।

यस्तै ट्वेन्टी–ट्वेन्टी बलरको बरियतामा ३९७ अंकसहित बसन्त ७१ औँ तथा ३३८ अंकसहित सोमपाल ९२ औँ स्थानमा रहेका छन् । यस्तै सोमपाल कामी केन रिचर्डसन, सार्दुल ठाकुर भन्दा अघि छन्। यस्तै बसन्तभन्दा पछि अस्ट्रेलियाकै मार्कस स्टाइनिस रहेका छन् । पारस वरीयतामा किरण पोलार्ड, जर्ज बेली जस्ता खेलाडी भन्दा अगाडि छन् भने शरदपछि वेष्टइन्डिजकै डारेन शामी र जिम्बावेका सिकन्दर राजा छन्। पारसको २६५ तथा शरदको २३८ रेटिङ छ। टी २० मा ब्याटिङतर्फ अष्ट्रेलियाका आरोन फिन्च तथा बलिङतर्फ अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन्। नेपालले तीन वर्षपछि आइसीसीको टी-२० इन्टरनेशनल मान्यता प्राप्त खेल खेल खेलेपछि खेलाडीहरु वरीयतामा समावेश भएका हुन्।