-मनमोहन स्वार-
धनगढी, ‘मैले आम जनतासंगको प्रत्यक्ष भेटघाटका क्रममा यहाँका मुलभूत मुद्दा तथा विकासका चुनौति र अवसरबारे पहिचान गरिरहेकी छु र त्यसकै आधारमा विकासका खाका कोरिरहेकी छु’ दिनहुँ दर्जन बढी स्थानमा चुनावी सभा, कार्यकर्ता भेटघाट सहितका चुनावी प्रचारप्रसारमा निकै व्यस्त काँग्रेस नेतृ डा. आरजु राणा देउवाले बिहीबार धनगढीमा पत्रकारहरूका लागि समय निकाल्नु भयो ।
ठूलो संख्यामा उपस्थित सञ्चारकर्मीहरूमाझ कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर देउवाले आर्थिक, भौतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रको विकासका विद्यमान चुनौति र समस्या तथा विकास योजनाबारे विस्तारपूर्वक चर्चा गर्नुभयो ।
‘यो क्षेत्रमा ऐलानीपर्ती जमिन र भूमिहिन सुकुम्बासीहरूको समस्या विकराल छ’ उहाँले भन्नुभयो– भूमिहीनहरूले ऐलानीपर्ती जमिनमा बसोबास गर्नु गल्ती होइन, सरकारले उहाँहरूलाई उचित ढंगले व्यवस्थापन गर्न नसक्नु कमजोरी हो । उहाँले आगामी दिनमा व्यवस्थित बसोबासलाई प्राथमिकताका साथ अगाडी बढाइने बताउनु भयो ।
कैलालीमा अधिकांस गाउँवस्ती बाढी र डुबानबाट प्रभावित हुने गरेकोप्रति चर्चा गर्दै नेतृ डाक्टर देउवाले नदी तटबन्धबाट मात्रै यो समस्या समाधान हुननसक्ने बताउनु भयो । ‘हाम्रा नदीखोलाले समयसमयमा धार परिवर्तन गर्ने हु“दा तटबन्धले मात्रै समस्या समाधान हुदैन’ उहाँले बृहत हरियाली योजनाका साथै, जैबिक तटबन्ध तथा नदी नियन्त्रणका लागि अरु मुलुकले अवलम्बन गरेका प्रभावकारी प्रविधि पनि कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहा“ले थप्नुभयो– क्षेत्र नम्बर ४ मा नै केही बस्तीलाई अन्यत्र सार्नुपर्ने अवस्था छ ।
काँग्रेस नेतृ डाक्टर आरजुले धनगढी उपमहानगरपालिकासहित क्षेत्र नम्बर ५ मा सडक निर्माण, खानेपानी, विद्युत सेवा विस्तार सहितका पूर्वाधार निर्माणले गति लिएको चर्चा गर्नुभयो । ‘तर अझैं व्यवस्थित शहरीकरण र योजनावद्ध ढंगले विकास गर्नुपर्दछ’ उहाँले भन्नुभयो ।
उहाँले कैलालीमा डंगौरा थारु, राना थारु, पहाडी समुदाय सहित सबैको बसोबास रहेको र सामाजिक एकता र सौहार्दता प्रमुख सवाल रहेको बताउनु भयो । ‘विभिन्न जातजातिबीच एकता र सामाजिक सद्भाव कसरी अक्षुण्ण बनाइराख्ने भन्ने सबैभन्दा संवेदनशील सवाल हो’ उहाँले कतिपय सन्दर्भमा कम्युनिकेशन ग्यापका कारण पनि विभिन्न जातीबीच तनाव हुने गरेको बताउनु भयो ।
बढी समय आर्थिक, सामाजिक, भौतिक, शैक्षिक, स्वास्थ्य क्षेत्रका समस्या र विकास योजनाबारे चर्चा गर्नुभएको नेतृ देउवाले थोरै समय राजनीतिक मुद्दामा प्रवेश गर्नुभयो । ‘तपाईंहरू सबैले बुझ्नु जरुरी छ कि यो निर्वाचन लोकतन्त्र र कम्युनिष्ट बीचको लडाई हो’ नेतृ देउवाले आग्रह गर्नुभयो– कम्युनिष्टहरू शासनमा आए भने लोकतन्त्र, नागरिक अधिकार, स्वतन्त्र प्रेस, सम्पत्तिमाथिको व्यक्तिको अधिकार, संगठित हुन पाउने अधिकार जस्ता लोकतान्त्रिक अधिकार समाप्त हुनेछन् भन्ने सबैले मनन् गर्नु होस् ।
पत्रकार सम्मेलनमा काँग्रेसका कैलाली जिल्ला सभापति नरनारायण शाह, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, प्रदेश सभा सदस्य उम्मेदवारद्वय डिल्लीराज पन्त र जीवन राना, नेतृ दिव्यश्वरी शाह लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
प्रेस युनियन कैलालीद्वारा आयोजित कार्यक्रमको सञ्चालन जिल्ला अध्यक्ष टेकराज जोशीले गरेका थिए ।