काठमाडौं, २१ साउन । हिजो साँझ राजधानीको काँडाघारीबाट अपहरणमा परेका बालक निशान खड्काको हत्या भएको छ । भक्तपुरको ठिमी स्थित एक निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा आज मध्यान्ह साढे १२ बजे शव भेटिएको प्रहरीले जनाएको छ ।
अपहरणकारीले हिजो साँझ काँडाघारीबाट बालकको अपहरण गरी बालकका परिवारसँग ४० लाख फिरौती माग गरेका थिए । अपहरणकारीको खोजी गर्दै जाँदा अपराध महाशाखाको टोलीसँग भिडन्त हुँदा २ जना अपहरणकारीसमेत मृत्यु भएको छ । प्रहरी इन्काउन्टरमा मारिएकाहरु सिन्धुपाल्चोक घर भएका अजय तामाङ र गोपाल तामाङ रहेका छन् ।
अपराध महाशाखाको टोलीले भक्तपुरकै डोलेश्वर महादेव मन्दिरमाथि रहेको जङ्गलमा अपरान्ह १ बजे अपहरणकारीलाई इन्काउन्टर गरी मारेको हो । अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताउनुभयो ।
घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ । इन्काउण्टरमा मारिएका अपहरणकारी दुवै जनाको शव अहिले बीर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
दुवै अपहरणकारी बालकका चिनजानकै व्यक्तिहरु रहेको जनाइएको छ ।