साप्ताहिक राशिफल: (२०७५ साउन २० गतेदेखि २६ गतेसम्म)

साप्ताहिक राशिफल: (२०७५ साउन २० गतेदेखि २६ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफ्नै राशिमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले समग्रमा राम्रो समय रहने छ । यस अवधिमा आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहने छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुनेछ । तर आगामी शुक्रवार र शनिवारका दिन घरायसी समस्या उत्पन्न हुने लक्षण छ, आन्तरिक कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आइतवारका दिन खर्च बढ्न सक्छ, सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुने खतरा छ, सतर्क हुनुपर्छ । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । तर सोमवारपछि समग्रतामा राम्रा परिणाम प्राप्त हुनेछन् । मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । घुमघाम र मनोरञ्जनको अवसर जुर्नेछ, रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो, यो साता । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन यो साता गरेको काम र चिन्तन महत्त्वपूर्ण बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिश्रित प्रभाव भएको साता छ, आइतवार आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । तर सोमवार र मङ्गलवार अनुकूल रहँदैन, अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शङ्काले मन व्याकुल बन्नसक्छ । परिवारका सदस्य र आफन्तले पनि तपाईंको भावना बुझी दिंदैनन् । तर साताको अन्त्य उत्साहप्रद रहने छ, चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल बन्नुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । तर यो साता मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साताको मध्यभाग कमजोर भए पनि कर्मप्रति समर्पित भई अघि बढ्ने समय छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । यो समय विशेष महत्वको समय हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । बुधबार र बिहीवार सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, दैनिक कामकाजमा खर्च बढ्ने छ । साताको अन्त्यमा काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । आम्दानीमा कमी हुने छैन । समग्रमा यो साता अवसर चिन्नसक्दा राम्रो फाइदा लिन सकिने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यो साता सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । इष्टमित्रले प्रशंसा गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । यद्यपि आगामी शुक्रवार र शनिवार बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । छर–छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । समग्रतामा यो साता आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

यो साता झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा जानु हुँदैन । उता आम्दानीका मार्गमा पनि अवरोध सिर्जना हुने सङ्केत छ । यद्यपि यस अवधिमा साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । तर यो साता बोलीमा संयमता अपनाउनु होला, किनभने आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । समग्रतामा यो समय धैर्यधारण गरी परिश्रम गर्ने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रारम्भमा हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । छोटो यात्रा हुने सम्भावना पनि छ । तर साताको मध्यभाग अनुकूल छैन, धैर्यता, संयमता र सोचविचार गरी समयको उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । उता सप्ताहान्त राम्रो रहने छ, धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाइने छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ । घरायसी समस्या हल हुनेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । सामाजिक काममा संलग्न हुने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

उतारचढाव आइरहने समय छ, जस्तै आइतवारका दिन सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक सङ्कटको योग छ । सोमवार र मङ्गलवार प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । खानपानमा खर्च गर्न मन हौसिन्छ । बुधबार र बिहीवार ढिलो गरी कार्यसम्पादन हुने समय छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । लेनदेनमा विवाद हुनेछ । व्यवहारिक हानी हुनेछ । अनि शुक्रवार र शनिवार इष्टमित्रले प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । समग्रतामा यो साता पारिवारिक जीवन सामान्य रहने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साताको पूर्वार्द्धमा भाइबहिनी वा सन्ततिका तर्फबाट खुसीको समाचार प्राप्त हुने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा प्रशंसा बटुल्न सकिने छ । मन प्रफुल्ल र उत्साही बन्नेछ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । यद्यपि सोमवार र मङ्गलवार व्यक्तिगत स्वास्थ्यप्रति सचेत भएको जाति हुन्छ । साताको उत्तरार्द्धमा प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । तर साताको अन्त्यमा पनि स्वास्थ्यमा बाधा पुग्ने सङ्केत छ, खासगरी पाचन प्रणालीमा आएको खराबीले तपाईंलाई निराश तुल्याउन सक्छ । समग्रतामा मिश्रित प्रभाव भएको साता भए पनि मन भुलाउने उपायको प्राप्ति हुनेछ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सुरुमा घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्ने समय छ । सामाजिक मर्यादामा समेत आँच आउन सक्छ, सचेत हुनुपर्छ । सोमवार र मङ्गलवार बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने समय छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन हुनेछ । मनोरञ्जनका लागि राम्रै समय छ । बुधबार र बिहीवार गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । पुनः साताको अन्त्य मनोरञ्जक बन्नेछ । सारा आर्थिक समस्या निराकरण हुनेछन् । विपरीतलिङ्गी साथीसित आत्मीयता कायम हुनेछ । मन फुरुङ्ग हुने समय छ । समग्रतमा यो साता चुनौती र परीक्षण पार गर्दै यापन गर्नुपर्ने छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । तर हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रारम्भ र अन्त्य अनुकूल भए पनि साताको मध्यभाग उतारचढावले युक्त हुनेछ । समग्रतामा यो साता व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । अध्ययन अध्यापन सफल रहेको छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । तर साताको मध्यभागमा आफन्त वा घरपरिवारमा मतभेद हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगले दुःख दिन सक्छ । दृष्टिशक्तिमा कमी आउन सक्छ । सानातिना कामको झमेला आउनसक्छ । सारांशमा यो साता उत्साहबर्द्धक नै रहने छ । मन आनन्दका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । तर जे गरे पनि झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ, नत्र प्रतिकूल परिस्थितिले पछ्याउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साताको प्रारम्भमा नै परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । ज्ञान र अर्ति प्रदान गरेमा उसले राम्रो लाभ पाउने छ । राम्रो साता हुँदाहुँदै पनि बुधवार र बिहीवार अनुकूल छैन, यस अवधिमा मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । तर साताको अन्त्यमा आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ ।

(सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिष साथीबाट लिएका हौं ।)