प्रधानन्यायाधीश पदमा दीपकराज जोशीलाई अस्वीकृत, कांग्रेसद्वारा बैठक बहिस्कार

प्रधानन्यायाधीश पदमा दीपकराज जोशीलाई अस्वीकृत, कांग्रेसद्वारा बैठक बहिस्कार

न्यायपालिकामाथिको हस्तक्षेप : बार

काठमाडौँ, १८ साउन । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । समितिको आजको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिमा रहेका कांग्रेसका चार सांसद ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव र पुषपा भुसाल गौतमले बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो।

उनीहरुले समितिको बैठक बहिस्कार गर्नुका चार कारणहरु बुँदागत रुपमै उल्लेख गरेका छन्। जसमा लेखिएको छ, ‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका आभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेका छौं’

यसैबीच नेपाल बार एशोसिएसनले संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेर न्यायपालिकामाथि हस्तक्षेप गरेको बताएको छ ।

शुक्रबार सुनुवाई समितिले जोशीको नाम अस्वीकृत गर्ने निर्णय गरेपछि कानुन ब्यवसायीहरुको छाता संस्था बारले विज्ञप्ति निकालेर न्यायपालिकालाई निर्देशन र नियन्त्रणमा राख्न खोजेको बताएको हो ।

‘संसदीय सुनुवाई समितिको उक्त निर्णयले स्वतन्त्र न्यायपालिकामाथिको ठाडो हस्तक्षेप भएको देखिन्छ’ महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सम्पूर्ण नागरिकहरुको एकमात्र आस्थाको धरोहरको रुपमा रहेको न्यायपालिकाप्रति योजनावद्ध रुपमा भएको यस प्रकारको प्रहारबाट न्यायपालिकालाई व्यवस्थापिका र कार्यपालिकाद्वारा निर्देशित र नियन्त्रित गर्नेतर्फ उन्मुख भएको देखिन्छ ।’

सुनुवाई समितिले निर्णयले नेपालको संविधान, प्रचलित ऐन नियम, संवैधानिक परिषदले जोशीको नाम सिफारिस गर्दा लिएका आधार र कारणलाई चुनौती दिनुका साथै शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको बारले बताएको छ ।