काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो । नेपालले पहिलो तेस्रो र पाँचौं सेट जितेर भारतलाई पराजित गरेको हो । महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जित हो ।

स्पाइकरहरु सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठले उच्च प्रदर्शन गरे । यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेको थिएन । सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि हारेकाे थियो ।

यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।