राशिफल: साउन १८ गते शुक्रबार अगस्ट ०३ तारिख

राशिफल: साउन १८ गते शुक्रबार अगस्ट ०३ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन । महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

उद्योगधन्दा र बन्दव्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । चञ्चलता र घमण्डले अप्ठ्यारामा पार्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । दिउँसोबाट बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए झैं लागे पनि मिहिनेत गर्ने समय आएको छ । प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ काममा हात हाल्नु त्यत्ति उपयोगी हुँदैन । समग्रमा आज मध्यमफल प्राप्त हुन्छ । राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ । व्यापार व्यवसायबाट पनि भनेजस्तो फाइदा लिन सकिंदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मध्यम खाले समय छ । नयाँ काममा हात हाल्नु बलियो समय होइन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ ।

(सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिष साथीबाट लिएका हौं ।)