

काठमाडौँ, १६ साउन । ऐतिहासिक पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट खेलमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ। कप्तान पारसको ४ विकेट लिनुका साथै उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएपनि ब्याटिङमा गतिलो प्रदर्शन हुन नसक्दा नेपालले १९० रनको लक्ष्य समेत नेपालले भेट्टाउन सकेन।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको योगदान दिँदा दीपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१ तथा कप्तान पार खड्का १२ रनमै आउट भए । अन्य ब्याट्सम्यानको भने कुनै प्रभावकारी प्रदर्शन हुन सकेन । बलिङतर्फ नेदरल्यान्ड्सका पीएम सेलर, रिप्पोन र क्लास्सेनले समान ३–३ विकेट लिए । यस्तै लेडीले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा १८९ रन जोड्दा अलआउट भयो । यसक्रममा कप्तान पारस खड्काले ४ विकेट हात पारे । उनका अलावा सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने, वसन्त रेग्मी र करण केसीले १–१ विकेट लिए । नेदरल्यान्ड्सका लागि रिप्पोनले सर्वाधिक ५१ रन जोडे ।
नेदरल्याण्ड्सँग खेलसँगै नेपाल ओडिआई क्रिकेट खेल्ने २३औँ राष्ट्र बनेको छ। दुई खेलको ओडिआई सिरिजमा नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग शुक्रवार खेल्नेछ।