

काठमाडाैं । नेपालमा कार्यरत अवैतनिक वाणिज्यदुतहरुको संस्था अनररी कन्लुलर कर्पस नेपाल (एचसीसीएन)ले मंगलबार १७औँ वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको छ । साधारण सभाले एचसीसीएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइस डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ । हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले एचसीसीएनले विश्वका राष्ट्रसँग कुटनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । आर्थिक कुटनीतिको माध्यमबाट नेपालमा लगानी अभिवृद्धि गर्न सकिने तथा यसका लागि देशले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने उहाँको भनाइ थियो ।
आफ्नो स्वागत मन्तव्यमा एचसीसीएनका निवर्तमान डिन विष्णुकुमार अग्रवालले अवैतनिक वाणिज्यदुतहरुले लगानी भित्र्याउने, पर्यटनको प्रवर्धन गर्ने लगायत द्धिपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिदै आएको बताउनुभयो ।
नेपाली विधार्थीलाई विदेशमा अध्ययन गर्न छात्रवृत्ति देखि विदेशी राष्ट्रबाट मानवीय तथा विकास परियोजना भित्र्याउन समेत वाणिज्यदुतहरुले भूमिका खेलेको उहाँको भनाइ थियो । औपचारिक रुपमा सन् २००७ मा स्थापना भएको यो सस्थाका सदस्यले विश्वका ५ महादेशका ६२ देशलाई प्रतिनिधित्व गर्ने उहाँले जानकारी दिनुभयो ।