साउन १५, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशानुसार आज ७७ जिल्लामा नै व्यापक सहभागिताका साथ विरोध प्रदर्शन सम्पन्न भएको छ । अधिनायकवाद उन्मुख सरकारका विरुद्धमा भएको प्रदर्शनमा हालसम्म जिल्लाहरुबाट प्राप्त विवरण अनुसार समग्रमा ५ लाख भन्दा बढी पार्टीका नेता, कार्यकर्ता र शुभ चिन्तकहरुको सहभागिता रहेको कुरा नेपाली कांग्रसद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।
आजको प्रदर्शन खासगरी डा. गोविन्द केसी र सरकार बीच भएको सम्झौता अक्षरसः कार्यान्वयन गर्न सरकारलाई दवाव दिने, चर्को मूल्य वृद्धिका विरुद्धको जनभावनालाई प्रकट गर्ने, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयनमा दवाव बढाउने, निषेधाज्ञा फिर्ता लिन सरकारलाई खवरदारी गर्ने, उपकूलपतिको अपमानजनक गिरफ्तारीको विरोध गर्ने, बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राहरुको मानमर्दन गर्ने अभिव्यक्तिका बारेमा कारवाहीका लागि दवाव बढाउने लगायतका मुद्दाहरु थिए ।
आजको प्रदर्शनले राष्ट्रव्यापी रुपमा नेपाली कांग्रेसले उठाइरहेका मुद्दाहरुमाथि व्यापक जनसमर्थनको पुष्टि गरेको भन्दै जनभावना अनुरुप सच्चिई अघि बढ्न सरकारलाई सजग गराएको छ ।
देशव्यापी रुपमा भएको लाखौंको प्रदर्शनीलाई नजरअन्दाज गर्न सरकार लाग्यो भने, महंगो पर्ने चेतावनी समेत विज्ञप्ति मार्फत् दिइएको छ ।
साथै देशभरि प्रदर्शनको तयारी गर्ने र सहभागी हुने सम्पूर्ण सहभागीलाई नेपाली कांग्रेस केन्द्रीय समितिले बधाई ज्ञापन गरेको छ ।