

काठमाडौं, आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । सरकार अधिनायकवादी शैलीमा मनोमानी ढंगले अघि बढिरहेको निष्कर्श निकाल्दै काँग्रेसले खबरदारी गर्न विरोध प्रदर्शन गर्न लागेको हो । खबरदारी सभामा सहभागी हुन केन्द्रिय नेताहरू आफूअनुकूलका जिल्लाहरुमा गइसकेका छन् ।
देशका ७७ वटा जिल्ला सदरमुकाममा हुने विरोध प्रदर्शनमा ५ लाख भन्दा बढि सहभागी हुने काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । संविधानमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भए पनि सत्तारूढ कम्युनिस्ट दलले एउटा अर्को दललाई दिन अटेरी गरेको, महँगी र मूल्यवृद्धि रोक्न नसकेको, निषेधित क्षेत्र तोकेको, संवैधानिक अंगमा हस्तक्षेप गरेकोजस्ता सरकारका कार्यशैली अधिनायकवादउन्मुख रहेकाले खबरदारीसभा गर्न लागेको शर्माले बताउनुभयो ।देशव्यापी विरोध प्रदर्शनको लागि काग्रेसले सबै जिल्ला समितिहरुलाई परिचालन गरिसकेको शर्माले बताउनुभयो । हाल कांग्रेसमा ४ लाख ७० हजार ६ सय ५५ जना क्रियाशील सदस्य रहेका छन् ।
काठमाडौंमा दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन हुनेछ । शान्ति बाटिकाबाट भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिबाटीकामै फर्किएर खबरदारी सभा गरिने काठमाडौ जिल्ला कार्यसमितिले जनाएको छ ।