काँग्रेसको आज सरकारविरुद्ध देशव्यापी खबरदारी सभा, पाँचलाख सडकमा उतार्ने तयारी

काँग्रेसको आज सरकारविरुद्ध देशव्यापी खबरदारी सभा, पाँचलाख सडकमा उतार्ने तयारी

काठमाडौं, १५ साउन । सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सरकार विरुद्ध देशब्यापी विरोध प्रदर्शन गर्दैछ । सरकार अधिनायकवादी शैलीमा मनोमानी ढंगले अघि बढिरहेको निष्कर्श निकाल्दै काँग्रेसले खबरदारी गर्न विरोध प्रदर्शन गर्न लागेको हो । खबरदारी सभामा सहभागी हुन केन्द्रिय नेताहरू आफूअनुकूलका जिल्लाहरुमा गइसकेका छन् । 

देशका ७७ वटा जिल्ला सदरमुकाममा हुने विरोध प्रदर्शनमा ५ लाख भन्दा बढि सहभागी हुने काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । संविधानमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भए पनि सत्तारूढ कम्युनिस्ट दलले एउटा अर्को दललाई दिन अटेरी गरेको, महँगी र मूल्यवृद्धि रोक्न नसकेको, निषेधित क्षेत्र तोकेको, संवैधानिक अंगमा हस्तक्षेप गरेकोजस्ता सरकारका कार्यशैली अधिनायकवादउन्मुख रहेकाले खबरदारीसभा गर्न लागेको शर्माले बताउनुभयो ।

हाल कांग्रेसमा ४ लाख ७० हजार ६ सय ५५ जना क्रियाशील सदस्य रहेका छन् । देशव्यापी विरोध प्रदर्शनको लागि काग्रेसले सबै जिल्ला समितिहरुलाई परिचालन गरिसकेको शर्माले बताउनुभयो ।
कांग्रेसले स्वदेशमा मात्र होइन विदेशबाट समेत सरकारमाथि दबाब बढाउन विरोध प्रदर्शनको तयारी गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

मुख्यसचिव पौडेलकाअनुसार विदेशमा अगस्ट १ देखि ३ तारिखसम्म सरकारविरोधी प्रदर्शन र विरोध कार्यक्रम गर्ने तयारी छ । आफ्नो अनुकूलमा ती देशका नियम–कानुनभित्र बसेर विरोध प्रदर्शन गर्न १५ दिनअघि नै सबै जनसम्पर्क समितिलाई परिपत्र गरिएको छ । विरोधको कार्यक्रमअन्तर्गत जनसम्पर्क समितिहरूले सबै देशको दूतावास अगाडि प्रदर्शन गर्ने दाबी कांग्रेसको छ ।

सभामुख र उप–सभामुख भिन्न दलको हुनु पर्ने संबैधानिक ब्यवस्था भए पनि हाल केन्द्र देखि प्रदेश सबै ठाउँमा दुबै पद एउटै पार्टीको भएकाले ती मध्ये कुनै एक पद प्रमुख विपक्षी दललाई दिनु पर्ने माग काँग्रेसको रहेको छ । यस्तै काँग्रेसले डा गोविन्द केसीसँग भएको सहमतीको सरकारले अक्षरस पालना गर्नु पर्नेमा समेत जोड दिदै आएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति माथि त्रिभुवन विमानस्थलमा भएको ब्यवहार प्रति आपत्ती प्रकट गर्दै काँग्रेसले वीर अस्पतालका डाक्टरहरुलाई गृहमन्त्रालयमा बोलाएर बयान लिने, दलिय आस्थाको आधारमा सरकारी संचारमाध्यमका पत्रकारहरुलाई निष्काशन गर्ने जस्ता कार्यहरुको पनि विरोध गर्ने जनाएको छ ।