अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिल्यौं : ओली

अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिल्यौं : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले संविधान संशोधनका लागि कांग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताए ।

अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको उनको भनाइ छ । तर निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको पनि बताए । गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार बनाउनेजस्ता सहमति भएका थिए । त्यसबेला संविधान संशोधन गर्न आयोग नै बनाउने दुई दलबीच सहमति भएको चर्चासमेत भएको थियो ।

‘अनुभवहरुले के-कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो । यो यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ । कसैको नेतृत्वमा आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन,’ अध्यक्ष ओलीले भने, ‘मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो,’ ओलीले भने, ‘एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ जाने भन्ने कुरा भ्रम फैल्याउनका लागि भनिएका हुन् ।’

उनले अस्थिरता देखिएकोले पनि दुई ठूला दल मिलेर सरकार बनाउन खोजिएको बताए । ‘प्रदेशहरुमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो । विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढंगले भ्रष्टाचारमा, अस्थिरतामा यस्तोमा जाने काम भयो,’ उनले भने । संविधान समयानुकूल परिमार्जित हुँदै जानुपर्ने पनि उनले बताए। ‘त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौँ,’ ओलीले भने ।