

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार आफैंले आन्दोलनका लागि निम्तो दिएको बताएका छन् । कांग्रेस निकट कानुन व्यवसायीहरूको संगठन नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको १०औं राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै देउवाले आन्दोलन कांग्रेसको रहर नभएको बताए ।
सरकारका एकपछि अर्का कदम र निर्णयले आन्दोलन गर्न बाध्य हुनुपरेको उनको भनाइ थियो । देउवाले भने, ‘मैले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेर भनेको छु, कन्र्फटेसनमा जाने हो कि मिलेर जाने ?’ कम्युनिस्टहरू स्वभावले नै प्रजातान्त्रिक र सहिष्णु हुन नसक्ने भन्दै उनले सरकार अधिनायकवादतर्फ जान खोजेको टिप्पणी गरेका थिए । ‘कम्युनिस्टहरूको सरकार अधिनायकवादतिर जान खोज्छ, प्रयास गरिरहेको छ,’ सभापति देउवाले भने, ‘हामी त्यसलाई संविधान र कानुनमा टेकेर रोक्ने प्रयास गर्दैछौं ।’
उनले गएको संघ र प्रदेशको निर्वाचनमा कांग्रेसभित्रको अन्तर्घातका कारण पार्टी पराजित भएको बताए । ‘कम्युनिस्टहरू दुई पार्टी एक भए, हामी भने दुई पार्टी झै भयौं,’ देउवाले भने, ‘अन्तर्घातका कारण २५ देखि ३० सिटसम्म हारेका छौं । हचुवाको भरमा भनेको हैन, तथ्यांकले त्यही बताउँछ ।’ अन्तर्घातको रोग नहटेसम्म कांग्रेस पछाडि परिरहने उनले बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट अधिनायकवादसँग लड्न कांग्रेस बलियो र एकढिक्का हुनुपर्ने बताएका थिए ।