एमसीसी विरुद्ध नेपाल ९ विकेटले विजयी

एमसीसी विरुद्ध नेपाल ९ विकेटले विजयी

एजेन्सी, १३ साउन । त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई ९ विकेटले जितेको छ । बर्षाका कारण ६ ओभरमा झारिएको खेलमा मेरिलेबोनले दिएको ४१ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४.४ ओभरमा ४१ रन बनाई पुरा गरेको थियो । नेपालका सुवास खकुरेलले नट आउट १६ रन जोड्दा उप कप्तान ज्ञानेन्द्र मल्ल पनि १२ रनमा नट आउट रहे ।

नेपालका लागि ओपनर अनिल साहले ९ रन बनाएर आउट भएका थिए । उनले ९बल फेस गर्दै २ चौका प्रहार पनि गरेका थिए । यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले निर्धारित ६ ओभरमा ४ विकेटको क्षतिमा ४० रन बनाएको छ ।

एमसीसीका लागि कप्तान माहिला जयबर्दनेले आउट नभई २४ रन बनाए ।नेपालका सोमपाल कामीले २ विकेट लिँदा शक्ति गौचनले एक विकेट लिए । यसैगरी पहिलो विकेट रन आउट भएको थियो । जोनाथन ट्रट ज्ञानेन्द्र मल्लबाट रन आउट भएका हुन् । यसैगरी सोमपालले जेम्स फोस्टरलाई सुवास खकुरेलको हातबाट क्याच आउट गराउँदा शक्तिले पिटर मुररलाई सोमपालको हातबाट आउट गराएका थिए । अन्तिम ओभर बलिङ गर्न आएका सोमपालले म्याट कोल्सलाई आउट गराए । आजको खेलमा सन्दीप लामिछाने भने महँगो सावित भए । १ ओभर बलिङ गरेका सन्दीपले १३ रन खर्चिए ।

यसअघि आजै भएको पहिलो खेलमा नेदरल्याण्ड्सले एमसीसीलाई १२ रनले पराजित गरेको छ । टस हारि पहिला व्याटिङ गरेको नेदरल्याण्डले एमसीसीलाई ७३ रनको लक्ष्य दिएको थियो । तर एमसीसीले ६ ओभरमा २ विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो । बरुण चोपरा र जोनाथन ट्रटले आउट नभई २७ र २१ रन बनाएका थिए ।

टस हारी पहिला व्याटिङ गरेको नेदरल्याण्डले ३ विकेटको नोक्सानीमा ७२ रन बनाएको थियो । नेदरल्याण्डका तोवियस भिसेले नट आउट ५८ रन बनाए उनले ५ छक्का र ४ चौका प्रहार गरे आजै नेपालले नेदरल्याण्ड्ससँग नेपाली समयअनुसार राति सवा १० बजेदेखि सुरु हुनेछ । यस खेललाई आईसीसीले अन्तर्रा्ष्ट्रि टी–२० मान्यता दिएको छ । साभार: नेप्लेज डट कमबाट