देउवा र ओलीबीच नयाँ सत्ता गठबन्धन बनाउन सहमति, दुबै नेताले हस्ताक्षर गर्दै

देउवा र ओलीबीच नयाँ सत्ता गठबन्धन बनाउन सहमति, दुबै नेताले हस्ताक्षर गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चक्का दिने गरी नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता गठबन्धन बनाउने समझदारी भएको छ। आफूले चाहे पाँच वर्ष नै प्रधानमन्त्री बन्न सक्ने अभिव्यक्ति दिएको एक साता नबित्दै प्रधानमन्त्री प्रचण्ड सत्ताबाट बहिर्गमनको अवस्थामा पुगेका हुन् ।

पछिल्लो कार्यकालमै सत्तारुढ दलहरुलाई नै थाहै नदिई पटकपटक गठबन्धन फेरेका प्रचण्डलाई यसपटक भने कांग्रेस एमालेले अनपेक्षित झड्का दिएका छन् । कांग्रेस र एमालेलाई पालैपालो प्रयोग गरेर सत्ताको नेतृत्व गर्दै आएका प्रचण्ड पछिल्लो विकसित राजनीतिक घटनाक्रमबाट स्तब्ध छन् ।

कांग्रेस र एमालेले संविधान संशोधन र नागरिक निराशा चिर्नेगरी सत्ता गठबन्धन गर्ने सहमति बनेको बताइएको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा तीन घण्टा लामो छलफल भएको थियो ।

आइतबार पनि ओली र देउवाबीच पनि गोप्य भेटवार्ता भएको बताइएको छ । दुई दलका शीर्ष नेताबीचको छलफललाई मूर्त रुप दिन कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भएको थियो ।

सोमबार साँझ नेताहरुबीच सरकार गठनका विषयमा सहमति जुटेको बताइएको छ । कांग्रेस सभापति देउवा र ओलीबीच संसदको बाँकी कार्यकाल आधा आधा लिने भन्नेबारे पनि समझदारी जुटिसकेको बताइएको छ ।