काठमाडौं, १३ साउन । सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यक्षमता र शैलीप्रति असन्तुष्ट बनेका छन् । यतिखेर प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा भएका मन्त्रीहरुको कार्यक्षमता र शैलीमाथी केन्द्रित रहेर रिपोर्ट कार्ड बनिरहेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार अहिले मन्त्रीहरुले गरिरहेको कामको अनुगमन भइरहेको छ । मन्त्रीहरुले गरेको कामको अवस्थालाई हेरेर रेड जोन, एल्लो जोन र ग्रिन जोनमा मन्त्रीहरुको वर्गीकरण गरिएको छ । यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।
रेड जोन अर्थात जोखिमको सूचीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित छन् ।
यसैगरी एल्लो जोन अर्थात निगरानीको सूचीमा ९ जना मन्त्री छन् । यसमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उद्योगमन्त्री मातृका यादव, वनमन्त्री शक्ति बस्नेत, महिला बालबालिका मन्त्री थममाया थापा मगर, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, कृषिमन्त्री चक्रपाणि खनाल, खानेपानी मन्त्री विना मगर र सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा छन् ।
ग्रिन जोन अर्थात् सन्तोषजनकको सूचीमा रक्षामन्त्री र्इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट र अर्थमन्त्री युवराज खतिवडा रहेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भर्खरै कार्यभार सम्हालेकाले उनीहरुको समीक्षा नगरिएको समाचारमा उल्लेख छ । त्यस्तै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरीको कामलाई समिक्षामा महत्व नदिइएको नयाँ पत्रिका दैनिकले समाचार बनाएको छ ।