जोडी बाँधिए दिलीप र केकी

जोडी बाँधिए दिलीप र केकी

लामो समय अमेरिका बसेर केही समयका लागि नेपाल फर्किएका नायक दिलीप रायमाझीले यता आएपछि भट्टाभट काम पाउन थालेका छन्। यसै क्रममा मेला महोत्सवदेखि डान्स रियालिटी टेलिभिजन शो बुगी उगीसम्म र फिल्मदेखि अन्य काममा समेत व्यस्त हुन थालेका दिलीप अभिनित एक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

आफ्नो करियरका दौरान नायिका केकी अधिकारीसँग कहिल्यै काम गर्ने साइत नजुरे पनि यही गीतको म्युजिक भिडियोमा उनले केकीका साथ अनस्क्रिन रोमान्स गरेका छन्। धेरै समारोहमा सँगसँगै कम्मर मर्काएको यो जोडीले पहिलोपटक एउटा आधुनिक गीतको म्युजिक भिडियोमा अनस्क्रिन रोमान्स गरेका हुन्। दिलीप र केकीलाई यो अवसर जुराइदिएका हुन् गीतकार नारायण भारतीले। गीतकार भारतीले रचना गरेको चमेली बोलको गीतको म्युजिक भिडियोमा केकी र दिलीपको जोडीलाई आकर्षक देखाउने काम गरेका छन् निर्देशक विशाल भण्डारीले। नरेश गौतमले गाएको यो गीतमा संगीत एनके ब्रदर्सको रहेको छ।

चमेलीको म्युजिक भिडियो युट्युबमा अपलोड भएको दुई दिनमै २ लाखभन्दा बढीपटक हेरिसकिएको छ। छायांकार अर्जुन तिवारी तथा उनको टिमले म्युजिक भिडियोका लागि रमणीय लोकेसनहरू कैद गरेका छन्। निशान घिमिरेले सम्पादन गरेको भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

-www.newsofnepal.com बाट