सरकारको स्वेच्छाचारितालाई जनताले घुँडा टेकाइदिन्छन्: सहमहामन्त्री महत

सरकारको स्वेच्छाचारितालाई जनताले घुँडा टेकाइदिन्छन्: सहमहामन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पाँच वर्षको धम्की दिने सरकार पाँच महिनामै झुकेको बताउनुभएको छ । बीपी स्मृति दिवसका अवसरमा नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ ३ नम्बर प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको एक गोष्ठीमा बोल्दै डा. महतले उक्त कुरा बताउनुभएको हो । उहाँले दुई तिहाई बहुमत या पाँचवर्षे कार्यकाल जेसुकै भने पनि उसको स्वेच्छाचारितालाई जनताले घुँडा टेकाइदिने बताउनुभयो ।

नेपाली काङ्ग्रेसले ल्याएको चिकित्सा शिक्षा विधेयकमाथि आफूअनुकुल परिवर्तन गर्न खोजेपछि र डा. गोविन्द केसीको अनशनमा काङ्ग्रेसले समर्थन गरेर सडक र सदनबाट दबाब सिर्जना गरेपछि सरकारका सामु केही नचलेको डा. महतले बताउनुभयो । वर्तमान सरकारका लागि यो ठूलो पाठ हो र आगामी दिनमा पनि आफ्नो बहुमत छ भन्दैमा जनविरोधी र संविधान विपरीतका जस्तोसुकै निर्णय पनि फिर्ता लिनुपर्छ त्यसैले अधिनायकवादी शैलीमा आगामी दिनमा अघि नबढ्दा राम्रो हुन्छ भन्ने उहाँले तर्क गर्नुभयो ।

चुनावको बेलामा वृद्धवृद्धालाई भत्ता, शिक्षा र स्वास्थ्यका क्षेत्रमा नागरिकको पक्षमा नीति निर्माण र कम्युनिष्ट सरकार बनेपछि वर्ष दिनभित्रैमा रेल कुद्छ भन्नेजस्तो अनर्गल प्रचार गरेर भोट तान्ने मात्र काम गरेको र त्यो कुरा अहिले आएर जनताले छर्लंगै बुझेको उहाँले बताउनुभयो ।

सहमहामन्त्री डा. महतले वर्तमान सरकालाई असहयोग गर्ने या आजै या भोलि नै आन्दोलन गरेर सरकार ढाल्नेजस्ता काम काङ्ग्रेसले नगर्ने स्पष्ट गर्दै तर पनि संविधानविपरीत जाने र अहिलेजस्तो प्रशासन र सुरक्षा निकायलाई आफ्नो छायाभित्र मात्र राख्न खोज्ने प्रवृत्तिका विरुद्ध भने काङ्ग्रेस डटेर लड्ने बताउनुभयो । डा. महतले विपी कोइरालाले जनतालाई कम्युनिष्टहरुले जस्तो आश्वासन नभएर समृद्धि बाँड्नका लागि विसं २०१२मै समाजवादको नारा तय गर्नुभएको धारणा पनि राख्नुभएको थियो ।