बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

काठमाडौं । रोमाञ्चक खेलमा बंगलादेशविरुद्ध आठ रनको जित निकाल्दै अफगानिस्तान आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान सेमिफाइनल प्रवेश गर्ने चौथो टोली बनेको हो । विश्वकपको इतिहासमा अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो । अफगानिस्तानले दुई खेलबाट चार अंक जोड्यो । पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको अफगानिस्तानले त्यसपछिका दुई खेलमा पुनरागमन गरेको हो ।

दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाएको थियो । यो सँगै अस्ट्रेलिया सुपर ‘एट’बाटै बाहिरिएको छ । उता अष्ट्रेलिया माथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा भारतले २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यो खेलसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । सुपर-८ को समूह १ बाट इन्डिया शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगे । समूह २ बाट साउथ अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमीफाइनलमा पुगेको हो ।

आइसिसी ट्वान्टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्ने भएका छन्।