

काठमाडौँ। अफगानिस्तानले टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको छ। अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै टी-२० खेलमा पहिलो पटक अस्ट्रेलियालाई हराएको हो।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले १९.२ ओभरमा अल आउट हुँदै १२७ रन मात्र बनाएको थियो। अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाए पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल रहे।
अफगानिस्तानका बलरले उत्कृष्ट प्रदर्शन गर्दै गुलबदीन नैबले ४ विकेट, नवीन उल हकले ३ विकेट, र मोहमद नावी तथा राशिद खानले एक-एक विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो। अफगानिस्तानका लागि रह्मानुल्लाह गुरबाजले सर्बाधिक ६० रन र इब्राहिम जद्रानले ५१ रन बनाउँदै पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए।
अस्ट्रेलियाका कप्तान पाट कमिंसले ह्याट्रिक लिँदै आफ्नो लगातार दोस्रो खेलमा ह्याट्रिकको कीर्तिमान बनाए भने एडम जाम्पाले २ विकेट लिए।
यो जितसँगै अफगानिस्तानले सुपर आठको समूह एकमा २ महत्वपूर्ण अंक हासिल गरेको छ। अस्ट्रेलियाको भने २ खेलमा २ अंक रहेको छ। अब अस्ट्रेलियाले सोमबार राति भारतसँग खेल्ने छ भने अफगानिस्तानले मंगलबार बिहान बंगलादेशविरुद्ध खेल्नेछ।