पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा एपमार्फत ‘राइड सेयरिङ’ सञ्चालनमा रोक लगाइएको छ। पोखरामा ईनड्राईभ लगायतका एपहरूले सञ्चालन गर्दै आएको ‘राइड सेयरिङ’लाई यातायात व्यवस्था कार्यालय कास्कीले पूर्ण रुपमा रोक लगाएको हो।

यातायात व्यवस्था कार्यालय कास्कीले एक सूचना जारी गर्दै गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ सम्बन्धी कानुन नबनी नसकेकोले यो सेवा सञ्चालनमा रोक लगाइएको जनाएको छ। गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली बने पनि कार्यविधि र मापदण्ड तय नभएकाले यस्ता सेवाहरूलाई रोक लगाइएको हो।

नियमावलीमा निजी प्रयोजनका लागि दर्ता भएका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनले यात्रु बीमासँगै भाडा दर निर्धारण लगायतका मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ। तर, मापदण्ड नबन्दा इनड्राइभ, पठाओ, सहारा लगायतका एपहरूले आफैं भाडा दर तोकेर यात्रु ओसारपसार गर्दै आएका छन्। यसरी जथाभाबी रुपमा ‘राइड सेयरिङ’ सञ्चालन भएको पाइएपछि कार्यालयले सूचना जारी गर्दै यस्ता कार्यप्रति रोक लगाएको हो।

कार्यालयले सूचनाको बेवास्ता गरेर निजी सवारी साधनमार्फत ‘राइड सेयरिङ’ सेवा सञ्चालन गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिएको छ।