

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएका व्यक्तिहरूमा प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, र डा. सरला श्रेष्ठ रहेका छन् ।
प्रारम्भिक छनोटमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य, र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको हो । निर्देशक पदका लागि मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय, र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा नियुक्त गरिनेछ ।
चिकित्सा शिक्षा आयोगमा निर्देशकका चार पद रिक्त छन् । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयाँलको संयोजकत्वमा तीन सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए। समितिले ०८० मंसिरमा गरेको विज्ञापनमा २० जनाले आवेदन दिएका थिए, जसमा १२ जनाको नाम प्रारम्भिक छनोटमा परेको थियो ।