

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउने एजेण्डालाई प्रभावकारी बनाइने बताएकी छन् ।
आफ्नो कार्यकालको १०० दिनमा भएका काम र भावी योजनाका बारेमा जानकारी दिन मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले आफु अन्तिमसम्म पनि शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउने एजेण्डा कार्यान्वयन गर्न लागिपर्ने बताएकी छन् ।
अहिलेसम्म ८२५ भन्दा बढि शिक्षकहरुले राजनीतिक आवद्धता त्यागेपनि चित्तबुझ्दो भने नरहेको उनले बताइन् । उनले यसलाई प्रभावकारी बनाउन निर्वाचन आयोगसंग तथ्याङ्क समेत माग गरेको धारणा राखिन् ।उनले शिक्षा सेवा नियमावली अन्तिम चरणमा पुगेको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन खोजिएको समेत बताइन् ।
त्यस्तै मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको सुधारका लागि गरिएका अध्ययन प्रतिवेदनको अध्ययन गर्ने र सकारात्मक सुधारका सुझावहरुलाई ग्रहण गर्ने जिकिर गरिन् । विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनका लागि संसदीय समितिमार्फत पहल भइरहेको उनले बताइन् ।