

काठमाडौं, १० साउन । अन्ततः सरकार र डा. गोविन्द केसीको वार्ता टोलीबीच फेरि ९ बुँदे सहमति त भएको छ तर हस्ताक्षर भने हुन बाँकी रहेको छ । डा. केसीको अनशनको २७ औं दिनमा आज सरकारसंग ९ बुँदे सहमती भएसंगै अनशन पनि तोडिने अाशा गरिएकाे छ । यसअघि भएको सात बुदे अनौपचारिक सहमतिमा डा. केसीले विमती जनाएपछि ९ बुँदे सहमति भएको हो। डा. केसीले उठाएका मागमा अब एक बुदाँ मात्र पुरा हुन बाँकी रहेकाे छ । काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न सम्बन्धन दिन नहुने डा. केसीको अडान कायमनै रहेको बताइएको छ । अहिले केसी वार्ता टोली फेरि तेस्रो पटक वार्ताकालागि बालुवाटार गएको बताइएको छ ।
डा. केसीका वार्ता टोलीका सदस्यहरुले यसअघिको सहमतिका बारेमा बताएपछि केसीले २ बुँदामा असहमति जनाएका थिए। त्यही सन्देश बोकेर डा केसी पक्षको वार्ता टोली अर्को वार्ता गर्न बालुवाटारतिर गएको थियो। वार्तामा सहभागी एक सदस्यकाअनुसार माथेमा आयोगको प्रतिवेदन अनुसार सहमति भएपछि आजै अनशन तोड्ने तयारी भइरहेको छ ।