काठमाडौँ, १० साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको बारेमा आज संसदीय सुनुवाइ हुँदैछ । सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजे बस्दै छ । उनीविरुद्ध पाँच उजुरी परेका छन्। संसदीय सुनुवाइमा पहिलोपटक प्रस्तावित पदाधिकारीका लागि लिखित प्रश्नावली तयार पारिएको छ ।
समितिमा प्राप्त उजुरीमा आधारित भइ लिखित प्रश्नावली तयार भएको हो । समितिका एक सदस्यका अनुसार उजुरी र अन्य जानकारीमा आएका विषय समेत हेरेर लिखित प्रश्नावली तयार पारिएको हो ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय परिषदले अवकाशको पत्र थमाएपछि चैत १ गते राजीनामा दिएका थिए। राजीनामा दिएको करिब दुई महिनापछि संवैधानिक परिषद् जेठ २८ गते जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। संघीय संसद्को संयुक्त कार्यसञ्चालन नियमावली पारित नहुँदा असार २९ गतेदेखि मात्र सुनुवाइ प्रक्रिया अघि बढाइएको थियो।