प्रेस र कांग्रेस मिलेर अधिनायवादी प्रवृतिविरुद्ध लड्नुपर्ने बेला भयो : उपसभापति निधि

प्रेस र कांग्रेस मिलेर अधिनायवादी प्रवृतिविरुद्ध लड्नुपर्ने बेला भयो : उपसभापति निधि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार एकदलीय अधिनायकवादतर्फ उन्मुख भइरहेको बताएका छन् । नेपाल प्रेस यूनियनले बुधबार काठमाडौंको शंखमूलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कांग्रेस उपसभापति निधिले सरकार दुईतिहाईको दम्भमा अधिनायकवादी प्रवृतिबाट प्रस्तुत भइरहेको बताएका हुन् ।
उनले सरकारको अधिनायकवादी प्रवृतिका विरुद्ध प्रेस जगत र कांग्रेस मिलेर लड्नुपर्ने अवस्था आएको पनि बताए । ‘‘सरकार दुईतिहाईको दम्भमा अधिनायकवादी प्रवृत्तिबाट प्रस्तुत भयो । अब प्रेस र कांग्रेस एकअर्काका सहयोगी भएर लड्नुपर्ने अवस्था आएको छ,’’ निधिले भने ।
नेपाली प्रेसले प्रतिकूल अवस्थामा पनि प्रजातन्त्र र राष्ट्रियताका लागि मर्यादित रुपमा योगदान पुर्याएको स्मरण गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यता विपरित गइरहेको सरकार विरुद्ध फेरी प्रेस जगतले योगदान पुर्याउनुपर्ने अवस्था आएको जिकिर गरे ।
‘‘लोकतन्त्र, राष्ट्रियता, खुला समाज, अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका कारण प्रेस र कांग्रेसको सम्बन्ध छ,’’ उपसभापति निधिले भने, ‘‘सरकार यिनै कुराहरुमाथि प्रहार गरिरहेको छ । अव हामीले मिलेर जानुको विकल्प छैन ।’’
उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले अनशनरत डा. गोविन्द केसी, माथेमा आयोगले तयार पारेको प्रतिवेदन र अन्य पक्षको सहमतिमा सबैको भावना समेटिने गरी अध्यादेश ल्याएको दाबी गर्दै सरकारले उक्त अध्यादेश हुबहु कार्यान्वयन गर्नुको विकल्प नभएको बताए ।
देउवा सरकारले ल्याएको सबै पक्षले स्वीकार गरेको अध्यादेशलाई तोडमरोड गर्नु कम्युनिष्ट सरकारको दूराशय भएको उनको भनाइ थियो । कांग्रेस उपसभापति निधिले डा. केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका सम्पादकको टोलीप्रति आभार प्रकट गरे ।
कांग्रेस उपसभापति निधिले पार्टीभित्रका अन्तरिक प्रतिष्पर्धालाई थाँती राखेर लोकतन्त्रको पक्षमा र अधिनायकवादी सोच विरुद्ध एकअर्काको पूरक भएर खेल्नु पर्ने भूमिकालाई प्राथमिकता दिन पनि नेताहरुलाई आग्रह गरे ।