काठमाडौं, ९ साउन । चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा. गोविन्द केसीले १५ औँ पटक सुरु गरेको सत्याग्रह २६ औँ दिनमा लागेको छ । जुम्लाबाट सुरुभएको डा. केसीको यसपटकको सत्याग्रह लम्बिँदै गएको छ । हिजो साँझ डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच भएको भेटवार्ता सकारात्मक भएको बताइएको छ । केसी र सरकारी वार्ता टोलीले हिजो साँझ जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । साँझ ६ बजे शिक्षा मन्त्रालयमा भएको भेटवार्तामा डा. केसीले उठाएको मागबारे छलफल भएपनि अझै सहमति भने जुट्न सकेको छैन ।
विज्ञप्तिमा भनिएको छ ‘डा. गोविन्द केसीले उठाएका मध्ये अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै सहमति हुन बाँकी रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ– आज बिहान ९ बजे पुनः ती विषयमा छलफल गरेर सहमति जुटाइने निर्णय गरेको छ । विधेयकका अधिकांश बुँदामा सहमति जुटे पनि मुख्य बुँदामा भने अझै सहमति हुन नसकेपछि आज थप छलफल गरेर सहमतिमा पुग्ने विज्ञप्तिमार्फत भनिएको छ ।
शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन् । उता , डा. केसीका तर्फबाट डा। जीवन क्षेत्री, डा। अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि थिए ।